Blog

राष्ट्रकविको स्वर्णिम जिन्दगी

राष्ट्रकविको स्वर्णिम जिन्दगी

Blog
राष्ट्रकवि माधवप्रसाद घिमिरे हरेक मान्छेले जीवनलाई उत्सवमय बनाउनु पर्छ भन्छन् । ९९ वर्षको उमेरमा समेत काव्यिक सुबास छरिरहेका कविवरको जिन्दगी स्वर्णिम बनेको छ ।

राष्ट्रकविका रुपमा नेपालीले मनैदेखि श्रद्धा गर्ने सुपात्र हुन्–माधवप्रसाद घिमिरे । उनी लोक साँस्कृतिक विम्ब टपक्कै टिपेर कविता बुन्न खप्पिस छन् । मानवता गाउँदै हिँडेका घिमिरेको जीवन उत्सवमय छ । 

madhav-prasad-ghimireउनी प्रकृतिपूजक त हुँदै हुन् । स्वछन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कवि । मानवतावाद उनको जीवन दर्शन । त्यसो त उनी प्रणय चेतनामा पनि अब्बल छन् । कविता, खण्डकाव्य र गीति नाटकबाट नेपाली साहित्यको श्रीवृद्धिमा अतुलनिय योगदान पु¥याएका छन् । 
नेपाली साहित्यमा गौरी, अश्वत्थामा, राष्ट्रनिर्माता, मालती–मंगले, किन्नर–किन्नरी जस्ता थुप्रै गहन पुस्तक अर्पण गरेका उनी यतिबेला ऋतम्भरा महाकाव्यको बिट मार्दैछन् । 

काठमाडौंको लाजिम्पाटस्थित निवासमा बसेर आफ्नो सृजनाको आफैं पाठक, आफैं समिक्षक र आफैं सम्पादक भएर ऋतम्भरा पाण्डुलिपि परिमार्जन गर्दैछन् । उनको यो पछिल्लो कृति सबैका लागि अमूल्य उपहार बन्नेमा शंका छैन । 

शताब्दी पुरुष बन्नै लागेका बेला पनि उत्तिकै हँसिलो र भरिलो देखिन्छन् कविवर । आफुले भोगेको जीवनप्रति कुनै गुनासो छैन । असन्तुष्टि छैन । जिन्दगी सफल भएको अनुभूति छ । कर्मशील भएकैले उनको जिन्दगी सार्थक बन्यो । 

लमजुङको पाखा पखेरामा जन्मे÷हुर्केको मान्छे आज राष्ट्रले नै गौरव गर्न लायक धरोहर बन्यो । समग्रमा भन्दा राष्ट्रकविको जिन्दगी स्वर्णिम बन्यो । 
उनको जीवन आफैंमा प्रेरणाको गाथा हो । अनुभवको सिँगो विश्वविद्यालय पनि । 

madhav-prasad-ghimire1राष्ट्रकवि घिमिरे लमजुङ सदरमुकाम वेशिसहर मास्तिरको पुस्तुन गाउँमा जन्मेका । त्यहीँको वनपाखामा हुर्केका । बाँदर लड्ने भीरमा जन्मे÷हुर्केकैले होला उनका रचनामा प्रकृतिको मिठास पाइ्रन्छ । लोकसंस्कृतिको चास्नीयुक्त मिठास ।

मान्छे जहाँसुकै पुगोस् उसलाई बाल्यकाल र किशोरवयका सम्झनाहरूले नोस्टाल्जिक बनाउँछन् । उनी पनि समयको लहरो समाउँदै समाउँदै काठमाडौं आए । पढे । र, पछि विसं २०१९ देखि लाजिम्पाटमा घर बनाएर सधैंका लागि यतै बसे । समयसँगै कान्तिपुरका ‘रैथाने’ बने । 

मान्छेले मनलाई लगाम लगाउन सक्दैन । उनको मन पनि छिनछिनमा भुर्रभुर्र उडेर त्यतै गण्डकी अञ्चलतिर पुग्छ । अचेल पनि त्यसैगरी गाउँ डुलेर फर्किन्छ । बुढ्यौलीका कारण पुरानो घर आँगन पुग्न सक्दैनन् । उनले लेखेकै छन्, ‘लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरो ।’ 

गाउँमा लघु कौमुदीको अध्ययन सकेर खल्तीमा जम्मा सात मोहोर बोकेर उनी काठमाडौं पसेका थिए । यता आएपछि दरबार हाइस्कुलमा पढ्न थाले । उनले शास्त्रीसम्म पढे ।

जब विसं २००४ मा जीवनसंगी गौरीको निधन भयो तब सार्है विक्षिप्त बने । उनले शोककाव्य नै लेखे– गौरी । ०१५ सालदेखि प्रकाशन हुन थालेको गौरी काव्य संसारका मान्छेको दुःखको साथी बनेको छ । 

अरु थुप्रै गहन साहित्य लेखेर गुन लगाए उनले । साहित्यले समाजलाई आशावादी बनाउनु पर्ने उनको जिकिर छ । ‘कविले मान्छेलाई निराश madhav-prasad-ghimire2बनाउनु हुँदैन’, उनी आग्रह गर्छन्, ‘आशावादी बनाउने कविता लेखौं । सबैमा सकारात्मक उर्जा बाँडौं ।’ 

जीवनमा गाउँको हेडमास्टरदेखि भाषानुवाद परिषद, गोरखापत्रको जागिरे हुँदै प्रज्ञा प्रतिष्ठानको कुलपतिसम्म बन्ने अवसर पाए उनले । बुढेसकालमा पनि उत्तिकै सक्रिय छन् । 

जीवनको उत्तरार्धमा आइपुग्दा आफूलाई सिमलको बुढो रुखसँग तुलना गर्छन । अचेल लाजिम्पाटको त्यही पुरानो घरमा जीवनसाथी महाकाली र छोराबुहारीसँग बस्छन् । तर, आँखामा बाल्यकालका तस्बिर टाँसिएकै छन् । उनी घरिघरि गण्डकी अञ्चलतिर पुगिहाल्छन् ।

बुढेसकालको दैनिकी पनि उस्तै व्यस्त छ । काठमाडौंमा दिनहुँ अनेकौं कार्यक्रम हुन्छन् । कतिपयले उनलाई प्रमूख अतिथिका रुपमा बोलाउँछन् । राष्ट्रकवि उभिदिँदा कार्यक्रमको गरिमा बढ्छ ।

कहिलेकाहिँ त दिनमै तीन–चारवटा कार्यक्रम पर्छन । ‘तपाइँलाई हामी धेरै दुःख दिँदैनौं १५ मिनेट मञ्चमा बसेर फर्काउँछौं’ भन्छन् । त्यसरी कार्यक्रममा जाँदा दिनै बित्छ ।

कतिपय व्यक्ति र संस्था उनको घरमै आएर पुस्तक तथा एल्बम विमोचन गराउँछन् । संघसंस्था युवालाई लिएर घरमै आउँछन् । त्यस्तो बेला दुई शब्द आशिवर्चन दिन पाउँदा कविजीको अनुहार पनि चम्किन्छ किनकि उनी युवाका आँखामा समृद्ध नेपालको तस्बिर देख्छन् । संभावना देख्छन् । आखिर अबको मुलुक बनाउनु पर्ने दायित्व त युवाकै काँधमा छ । त्यसैले सबैमा प्रेरणा र उत्साह भरिदिन्छन् । 

madhav-prasad-ghimireप्रमुख अतिथिको आसनले समय खाइदिन्छ । चिन्तन, मनन र लेखनमा दिनुपर्ने समय बिथोलिएको छ । त्यसो भनेर कार्यक्रमहरूमा जान्न भन्न पनि सक्दैनन् राष्ट्रकवि । घरसम्मै आएर अनुरोध गरेपछि नाइँ भन्नु पनि कसरी ! कसैको मन दुखाउन चाहँदैनन् । त्यसैले गर्दा उनको आफ्नो समय पनि आफ्नो हुन सकेन । सार्वजनिक सम्पक्ति झैं भएको छ समय । 

उनी हँसिला छन् । खानपान र व्यायाममा ख्याल गर्छन । सामान्यतः बिहान ६ बजे उठ्छन् । नित्य कर्म सकेर आधा घन्टा व्यायाममा बस्छन् । व्यायाम सकेर घरआँगनमा आधाघन्टा जति हिँड्छन् । 

पत्रिका हेर्दै चिया सुरुप सुरुप पार्ने बानी छ । पत्रिकाको शिर्षक पढ्छन् । तस्विर हेर्छन् । तर पहिलो हेराइमै पुरै समाचारमा गहिरिँदैनन् । ‘पढ्नै पर्ने कुरा रहेछ भने कलमले होइन मनले चिनो लगाउँछु’, उनी भन्छन्, ‘दिउसो कतैबाट फर्केपछि सम्झें भने त्यो समाचार वा लेख पढ्छु ।’ 

बिहान साँढे दशदेखि साँढे ११ बजेभित्र खाना खान्छन् । खानामा त्यही सामान्य दालभात, रोटी र तरकारी । रायो, चम्सुर, पालुंगोको साग भनेपछि भुतुक्कै । खाँट्टि पण्डित परिवारका घिमिरे पानका अम्मली थिए कुनै बेला । मदिरा सेवन उनको रोजाइमा कहिल्यै परेन । 

हरियोपरियो भनेपछि हुरुक्कै । रायोको साग चपाई चपाई स्वाद लिन्छन् । उनलाई आलु–तामा र निगुरोको तरकारी पनि खुबै मिठो लाग्छ । मान्छेले बाल्यकालमा जुन कुराको स्वाद लियो पछिसम्म त्यही बढी मिठो लाग्दो रहेछ ।

साँझको खाना ८ बजेतिरै खान्छन् । खाना पछि टिभीमा समाचार खोज्छन् । बिहान चाहिँ घरमा कसैले टिभी खोलेको मन पराउँदैनन् उनी । 

पहिला पहिला दिउसो ३ बजेपछि लेख्न बसुँ जस्तो लाग्थ्यो । त्यसै गर्थे त्यो बेला । अचेल परिवार सुतिसकेपछि लेख्न बस्छन् । लेख्दालेख्दै÷घोत्लिँदाघोत्लिँदै राती साँढे ११ बजेपछि बिस्तारामा पल्टिन्छन् । 

पहिला पहिला मनमा भावनाको भेल बग्थ्यो, अचेल विचारको भेल बढ्दैछ । विचार मात्रै भएर पुग्दैन कविता हुन त्यसमा कलात्मक भावना पनि चाहिन्छ । त्यही भएर पछिल्लो समय लेखनमा कमी आएको सुनाउँछन् उनी । 


उनी फुर्सद भयो कि दर्शनका पुस्तक पढ्छन् । मनमनै गुन्छन् । कतै घतलाग्दा कविता फेला पारे भने महाकालीलाई सुनाइहाल्छन् । महाकाली उनको जीवनको भरपर्दो सारथी हुन् ।

हाम्रा राष्ट्रकविको निवास खुला ठाउँमा छ । त्यसैले उनी बगैंचामा फूलेका फूल, तिनमा बसेका पुतली र रुखका हाँगामा रमाउने चरासँग बात मार्छन । एक तमास तिनका गतिविधि नियाल्छन् । 

राष्ट्रको एउटा अमुल्य रत्न हुन् राष्ट्रकवि । सबैले मानेका । उनको निवासको कोठाभरी प्रमाणपत्रको थाक छ । भित्तामा नअटेर भुइँमा पनि चाङका चाङ । मायाको चिनोको अबस्था पनि त्यस्तै । अरु सामान पनि त्यस्तै । तिनलाई राम्रोसँग सजाएर राख्न सकिएको छैन । 

सयौंको संख्यामा छन् प्रमाणपत्र । पाहुनाहरूलाई राष्ट्रकवि ती प्रमाणपत्रका चाङ देखाउँछन् । तिनलाई व्यवस्थित गर्न नसकिएको भाव उनको आँखामा झल्किन्छ । 

हाम्रो समाजमा मान्छे बितेपछि तिनको सम्झनामा केही गर्ने कुरा उठ्छ । राष्ट्रकविको जीवन छँदै उनको नाउँमा संग्रहालय बनाए कस्तो होला ? त्यसमा उनले प्रयोग गरेका सामान, भाँडावर्तन, कपडा, कापी, कलम, पुस्तक, पाण्डुलिपि, उपहार, अडियो÷भिडियो र यस्तै प्रमाणपत्र सजाउन पाए हुन्थ्यो ।

त्यति गर्न सके संसारका जुनसुकै कुनामा बस्ने नेपालीका लागि पनि राष्ट्रकविको अध्ययन गर्ने र श्रद्धा दर्शाउने राम्रो थलो बन्न सक्थ्यो । राष्ट्रकविकै निवासलाई संग्रहायलमा रुपान्तरण गर्न सके साहित्यिक तीर्थ बन्न सक्छ । 

यस्तै छ राष्ट्रकविको जीवन । हरेक मान्छे अमर बन्न चाहन्छ । उमेरमा मरिएला भन्ने डर हुँदैन । जवानीमा मृत्यूलाई पनि जित्न सकिन्छ जस्तो लाग्छ । मृत्युको झस्का पस्दैन । चालिस वर्षसम्म मुटु दरै हुन्छ । त्यसपछि अलिअलि डर पस्ने उनको अनुभव छ । 

‘उमेर ६० पुगेपछि मृत्युको झस्का पस्दो रहेछ’, उनले सम्झिए, ‘तिमी त बुढ्यौलीतिर लाग्यो भनेर कसैले भन्दा खंङग्रंग भइँदो रहेछ ।’ 

हिँड्दा हिँड्दै जीवनका कयौं जंघार तरे उनी । उकाली ओराली र घुम्टीहरूमा मान्छेकै गीत गाउँछन् कविवर । कति वर्ष बाँचिएला भन्ने कुरा भगवानकै हातमा छ । उनी यति सुझाउँछन्–‘हामीले अझै उदार बनेर विश्वबन्धुत्वको भावना संसारभर फैलाउनु पर्छ ।’ 

फर्केर हेर्दा उनी आफ्नो जीवनलाई सार्थक भएको मान्छन् । कविता र गीतमार्फत राष्ट्रिय भावना जागरणमा योगदान पुर्याउन सकेकामा सन्तुष्ट छन् । भन्छन्, ‘जीवन भगवान र प्रकृतिको वरदान हो । देशलाई माया गर्न पाउँदा सन्तुष्ट छु ।’ 

राष्ट्रकविको सुस्वास्थ्यको कामना !
 
Share this Post:

Related Posts:

Leave a Comment